तिहारका बेला पनि फुर्सद छैन, किसानलाई अलैँची भित्र्याउन चटारो

२० कार्तिक, फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उहाँ अलैँची टिप्न र सुकाउनमै व्यस्त हुनुहन्छ । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उहाँले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएउनुभएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उहाँले वर्षमा करिब १३ मनसम्म अलैँची बिक्री गर्दै आउनुभएको छ ।

तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम सुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मङ्रि अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताउनुहुन्छ ।

“बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मङ्सिरसम्म अलैँची टिप्न चटारो हुन्छ”, राईले भन्नुभयो । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।” कम मेहनतले अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउनुहुन्छ । अलैँची बिक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची बिक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरिद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।

थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदुरको समेत अभाव छ । प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउनुहुन्छ ।

“खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताउनुभयो । केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको बिक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रु एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।

वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिनुभयो । जिल्लामा करिब चार हजार तीन सय हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।