दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्दै

१९ कार्तिक, दार्चुला। पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन् ।

चालु आवमा गत आवको जिम्मेवारी सरिआएका सात गरी कूल १३ पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै सङ्ख्यामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् ।

पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेदका घटना निकै बढेका छन् । पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्धविच्छेद गराउन चाहनेको सङ्ख्यामा बढ्दै गएको अदालतको तथ्याङ्कले देखाउँछ । गत वर्ष ३० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । मुद्दा दर्ता गराउनेमा १८ महिला थिए । गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताउनुभयो । चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ । आव २०७५÷७६ मा ४३ सम्बन्धविच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए ।

आफूलाई बेवास्ता गरेको, खान लगाउन नदिएको, अनावश्यक शङ्का गरेकोजस्ता कारण देखाएर पत्नीले पतिसँग सम्बन्धविच्छेद गराउन चाहेको भन्दै मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार ज्ञवाली बताउनुहुन्छ । पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोग, श्रीमान् विदेशमा हुनु, पारिवारिक कलह, शङ्काउपशङ्का, सानै उमेरमा विवाह गर्ने, गाउँ छाडेर बजारमा डेरा गरी बस्नेलगायत कारण पती पत्नीबीच कलह बढ्ने गरेको पाइएको छ । महिलाको तुलनामा पुरुषले सम्बन्धविच्छेदका लागि बढी मुद्दा दिने गरेको तथ्याङ्क छ । “छोरा नभएको कारण देखाएर पनि सम्बन्धविच्छेद गर्ने गरेका छन्”, ज्ञवालीले भन्नुभयो ।