लमजुङमा बर्षेनि आत्माहत्याको घटना बढ्दो, एक वर्षमा ३५ जनाले गरे आत्महत्या

२८ भदौ, लमजुङ। लमजुङमा बर्षेनि आत्माहत्याको घटना बढ्दो छ । जिल्लाको आत्महत्यासम्बन्धी विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने बर्षेनि यस्ता घटना बढ्दो क्रममा छ ।

पछिल्लो पाँच वर्षमा जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकअनुसार जिल्लामा एम सय ५१ जनाले आत्महत्या गरेका छन् । तथ्यांकअनुसार लमजुङमा चालू वर्षको दुई महिनामा मात्र चारजनाले आत्महत्या गरेका छन् । साउनमा दुई र भदौ महिनामा दुईजनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ३५, आव ०७३/०७४ मा २४, ०७४/०७५ मा २३, ०७५/०७६ मा ३४ र ०७६/०७७ मा ३१ जनाले आत्महत्या गरेका छन् ।

आव ०७७/०७८ मा मात्र आत्महत्या गर्नेमा २० पुरुष र १५ महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जगदीश रेग्मीले जानकारी दिए । आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धा अवस्थाका व्यक्तिसमेत छन् । जसमा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका रहेको प्रहरी तथ्यांकले देखाएको छ ।

आत्महत्याका कारण विभिन्न भए पनि ८० प्रतिशत आत्महत्याका घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको मनोचिकित्सकको भनाइ छ । आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य समस्याहरूको उपचार, आत्महत्यासम्बन्धी सही सूचना सम्प्रेषण र सचेतनामूलक कार्यक्रम सञ्चालन नै प्रमुख हुन आउने जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी बताउँछन् ।

आत्माहत्या गर्नुको पछाडि अशिक्षा, गरिबी, बेरोजगारी, प्रेम वियोग, असफलता, क्षणिक आवेश, मानसिक असन्तुलन, दीर्घरोग, घरेलु हिंसा आदि कारण हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जाल र सञ्चार उपकरणको दुरुपयोग आत्महत्याको अर्को महत्वपूर्ण कारण बनेको छ । न्युज कारखाना