Ad #144479

१७ भदौ, बैतडी। गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कूल ८३१ जनाको परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी पीसीआर विधिमार्फत कूल १४२ जनाको परीक्षण गर्दा २६ र ६८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६, महाकाली अस्पतालमा पाँच, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत् गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट यस प्रदेशका कसैको पनि मृत्यु नभएको निर्देशनालयले जानकारी दिएको छ । यस्तै सोही अवधिमा २९ जना सङ्क्रमणमुक्त भएका छन् ।

चार लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक विकास मन्त्रलायको तथ्याङ्कअनुसार छ लाख एक हजार १५ जनाले पहिलो मात्रा र चार लाख एक हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन् ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका एक लाख ५५ हजार ५१० जनाले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ जनाले पूर्ण खोप लगाएका हुन् ।

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ जनाले पूर्ण खोप पाएका हुन् ।

यहाँका नागरिकलाई कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ । सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो ।