संरक्षणको अभावमा बराहताल ओझेलमा

१० भदौ, पर्वत। पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा परेको छ । जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित सो ताल आवश्यक संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको हो ।

पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा यो ताल ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको छ । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ । पर्यटकीय सम्भावना बोकेको भए पनि तीनै तहका सरकारले तालको प्रचारप्रसार गर्न नसकेका कारण ताल ओझेलमा परेको स्थानीवासीको भनाइ छ ।

“यो ताललाई प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको ओइरो लाग्छ”, स्थानीयवासी पूर्णबहादुर बरुवाले भन्नुभयो, “जलजला गाउँपालिकाको पर्यटकीयस्थल भनेको यही ताल यही हो । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको छ । बेनी–मालढुङ्गा सडकबाट झण्डै एक घण्टाको समयमा सवारी साधनबाट तालमा पुग्न सकिन्छ । तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ ।

जनै पूर्णिमाको अवसरमा बराहतालमा विशेष मेला लाग्छ । गत वर्ष र यस वर्ष भने भक्तजनहरुको न्यून उपस्थिति रहेको स्थानीय लालबहादुर अधिकारीले जानकारी दिनुभयो । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनी यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताउनुभयो ।

‘छेउमै रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, उहाँले भन्नुभयो, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ । अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित बनेको छ ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती, क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ । गाईभैँसीले तालमा फोहर गर्ने समस्या भने रोकिएको छ । ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली तथा बाहिरी भागमा घेरबार लगाइएको जलजला गाउँपालिका–२ का अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो । “हामीले गाउँपालिकाभित्र ठूलो ताल भनेको यही हो, अघिल्लो वर्ष केही घेराबार गरिएको छ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा पनि ताललाई गहिरो बनाउने र तालको वरिपरि पर्खाल लगाउने काम गरेका छौँ । ताललाई व्यवस्थित गरेर यहाँ पुग्ने पर्यटकका लागि पौडी खेल्ने व्यवस्थापन गर्न गाउँपालिकाले गृहकार्य गरेको जनाएको छ ।

स्थानीय तहको बेरुजु झण्डै रु १० करोड

सात स्थानीय तहमा झण्डै रु १० करोड बेरुजु देखिएको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तहमा रु नौ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले गएको शुक्रबार सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार पर्वतका सातवटा पालिकाको रु छ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुश्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैँयु गाउँपालिकामा देखिएको छ । कुश्मा नगरपालिकामा रु एक अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखा परीक्षण गर्दा रु पाँच करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ । कुश्माको बेरुजु प्रतिशत तीन दशमलव २० प्रतिशत देखिएको छ ।

त्यसैगरी फलेवास नगरपालिकामा रु एक अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा रु एक करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ । फलेबासको बेरुजु प्रतिशत एक दशमलब आठ प्रतिशत छ । पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा रु ६६ करोड ६९ लाख ४५ हजारको लेखा परीक्षण गर्दा रु २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैँयुको बेरुजु प्रतिशत शून्य दशमलव ३२ प्रतिशत छ । पर्वतमा पैँयुपछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा रु एक अर्ब तीन करोड १९ लाख ९१ हजारको लेखा परीक्षण गर्दा रु ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु शून्य दशमलव ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत शून्य दशमलव ४८ प्रतिशत छ । महाशिलामा रु ६२ करोड ३० लाख छ हजारको लेखा परीक्षण गर्दा रु २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।

यस्तै पर्वतको बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत दुई दशमलव १२ प्रतिशत छ । बिहादीमा रु ५५ करोड ६९ लाख ९२ हजारको लेखा परीक्षण गर्दा रु एक करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ । यस्तै जलजला गाउँपालिकामा एक दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा रु ९३ करोड ६८ लाख ४६ हजारको लेखा परीक्षण गर्दा रु ९९ लाख २६ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकामा गत आवको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानीय तहको औषत बेरुजु प्रतिशत पाँच रहेको छ ।