सुदूरपश्चिममा एकै दिन १८ जनामा कोरोना संक्रमण

७ भदौ, डोटी। सुदूरपश्चिम प्रदेशमा आज सोमबार एकै दिन १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार ७७४ जनामा गरिएको कोरोनाको नमूना परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका बिरामी बढ्दै गएको पाइएकाले सावधानी अपनाउन निकै जरुरी भएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको पाइएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ ।”

निर्देशनालयका अनुसार प्रदेशभरि आजै ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका लागि यहाँका नागरिकले सामाजिक दूरीलगायत अन्य स्वास्थ्य मापदण्ड नअपनाएका कारण जोखिम दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।