अगुल्टो प्रहार गरी आफ्नै बाबुको हत्या

७ भदौ, रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बाबुको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

छोराको कुटपिटबाट मृत्युु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।

हत्यामा संलग्न टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे उहाँले जानकारी दिनुभयो ।