हार्डवेयर पसलमा आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति

२६ श्रावण, मलङ्गवा। सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

पसलमा आगलगी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । प्रहरी, स्थानीयवासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।