मुख्यमन्त्री गुरुङद्वारा इद–उल–फित्रको शुभकामना

३१ वैशाख, गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ ।

मुस्लिम समुदायको सांस्कृतिक पर्व इद–उल–फित्र–२०७८ को उपलक्ष्यमा उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, वहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट आक्रान्त भएका छौँ । तसर्थ यस विषम परिस्थितिमा एउटै घरमा बस्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु सन्देशमा उल्लेख छ ।

इद–उल–फित्र पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

[sidebar name="button post"]