उपचार सेवालाई प्रभावकारी बनाउन पाँच एम्बुलेन्स तयारी अवस्थामा

२६ वैशाख, रसुवा। जिल्लाका प्रायः क्षेत्रमा दिन प्रतिदिन कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिन थालेपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी हालतमा राखिएको छ । जिल्लामा यही वैशाख ५ गते पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।

रसुवा जिल्ला भौगोलिक विकट भए पनि अधिकांश स्थानमा मोटरबाटो खुलेका कारण जटिलखाले सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अस्पताल पु¥याउन पाँचवटा एम्बुलेन्स तयार गरिएको र नपुग भएको खण्डमा अन्य सवारी साधनसमेत परिचालन गराउने व्यवस्था मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गरी कोरोनाबाट बच्न र बचाउने कार्यमा सचेत रहन आग्रह गर्दै प्रजिअ ढकालले चिकित्सक एवं स्वास्थ्यकर्मीले दिएका सुझावलाई पालना गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्डमा २४, उत्तरगयामा १५, कालिकामा ५९, आमाछोदिङ्मोमा ११ एवं नौकुण्डमा ४२ जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिनुभयो । तीमध्ये १२ संस्थागत आइसोलेशन र अन्य होमक्वारेन्टिनमा रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमितमध्ये एक जनाको भने नुवाकोटको त्रिशूली अस्पतालमा निधन भएको बताइएको छ । पछिल्लो समय २२४ को स्वाब परीक्षण भइसकेको र कालिका गाउँपालिकाबाट त्रिशूली अस्पतालमा पठाएका स्वाबमध्ये ६४ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तै कोभिड–१९ को शुरूआत भएयता समग्रमा दुई हजार ६६ जनाको स्वाब परीक्षण भएको जनस्वास्थ्य अधिकृत देवकोटाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]