२५ फागुन, म्याग्दी। अन्नपूर्ण–१ दोवास्थित कैलाश माविको भवन जीर्ण बनेको छ । भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । विद्यार्थी र शिक्षक त्रसित मनोविज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस वर्षअघि निर्माण भएको कच्ची भवन भूकम्प र पहिराले भत्कने अवस्थामा पुगेको हो ।
चर्किएको पर्खाल र लच्किएको भवनका कोठामा जोखिम मोलेर पठनपाठन गराउनुपरेको प्रधानाध्यापक शिरबहादुर गर्बुजाले बताउनुभयो । “कक्षा कोठाको अभावले जीर्ण भवनमा जोखिम मोलेर विद्यार्थी राख्नुपरेको हो”, उहाँले भन्नुभयो, “विद्यालयमा भएका चारमध्ये दुईवटा पुराना भवन जीर्ण बनेपछि समस्या परेको छ ।”
विसं २०६० मा ढुङ्गा, माटो र काठको प्रयोग गरेर स्थानीय प्रविधिबाट निर्माण गरिएको नौकोठे भवन जीर्ण छ । त्यसैगरी आधारभूत तहको कक्षा सञ्चालन गरिएको दुईकोठे अर्को भवनसमेत भत्कने अवस्थामा छ । नौकोठे भवनको पर्खाल चर्किनुका साथै बाहिरी भाग बाहिर निस्किएको छ । कक्षा कोठाभित्रै प्वाल परेको छ । जोखिम बढेपछि त्यो भवनमा सञ्चालित कक्षा ९ र १० लाई हालै निर्माण भएको नयाँ भवनमा सारिएको छ । कम्प्युटर प्रयोगशाला पनि नयाँ भवनमा सारिएको छ ।
अर्को जीर्ण भवनमा कक्षा ३ का विद्यार्थी बसेर पढ्छन् । कक्षा ३ मा नौ विद्यार्थी छन् । नौकोठे पुरानो भवनमा अझै कार्यालय र पाँचवटा कक्षा सञ्चालन गरिएको छ । भिरालो पाखोमा रहेको भवन विसं २०७२ को भूकम्पले चर्किएको थियो ।
सामान्य मर्मत गरिएको भवन गत वर्ष जमिन लच्किएपछि पर्खाल चर्किएको हो । जीर्ण भवनका कारण त्रासको वातावरणमा पढ्नुपरेको विद्यार्थीले बताएका छन् । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा १६५ विद्यार्थी छन् । जोखिम भएकाले हिउँदयाममा चौरमा राखेर पढाइएको छ । बर्खामा कोठाभित्र राखेर पढाउन सक्ने अवस्था नभएकाले विकल्पको खोजीसँगै नयाँ भवन निर्माणमा पहल गरिएको वडाध्यक्षसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो ।
“राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बेनीस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत हालै चारकोठे नयाँ भवन निर्माण सकिएको छ”, उहाँले भन्नुभयो “रु ७० लाख ४० हजारमा सम्झौता भएकामा रु १५ लाखभन्दा बढी भुक्तानी पाउँन बाँकी छ ।”
यसअघि पनि चारकोठे भवन निर्माण भएको थियो । नयाँ भवन परिसरमा पहिरो रोकथामका लागि गाउँपालिकाको सहयोगमा पर्खाल निर्माण भइरहेको छ । नयाँ भवनका लागि जग्गासमेत सम्याएर राखिएको छ । थप आठ कोठा निर्माण गर्नुपर्ने अध्यक्ष गर्बुजाले बताउनुभयो ।











