Ad #144479

२३ फागुन, सर्लाही। सर्लाहीका एक युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्नातक पढाइ पूरा गरेर जागिर नखाइ बाउबाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडि बढाउँदै आएका कविलासी नगरपालिका– १० सलेमपुरका रवीन्द्र यादवले गाउँमै कृषि फार्म खोलेर भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको हो ।

बाबुबाजेले गर्दै आएको कृषि पेशालाई नै अगाडि बढाउनुपर्छ भन्ने सोंच लिएर बिबिएको पढाइ सकेर आफूले करीब एक वर्ष पहिलाबाट रु २५ लाख बैंकबाट ऋण लिएर हिम अमृत कृषि फार्म दर्ता गराई भैँसीपालन व्यवसाय शुरु गरेको उहाँले बतउनुभयो । एक वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा पालिएका भैँसीबाट उहाँले राम्रो आम्दानी गर्दै आएका छन् ।

उहाँको कृषि फार्ममा अहिले ५० भैँसी, तीन राँगा, २५ वटा पाडापाडी र दुई गाई रहेका छन् । पच्चीस दुधालु भैँसी उहाँले फार्म मै राखेका छन् भने दूध दिन छाडेका २५ भैँसी गाउँकै स्थानीय किसानलाई पाल्न दिएको यादवको भनाइ छ । आफूले फार्ममा पालेका सबै पशुको पशु बीमासमेत गराइसकेको उहाँले बताउनुभयो ।

गाउँमा पाल्न दिएका भैँसी ब्याएपछि पालेबापत केही रकम दिएर पुनःफार्ममा फर्काएर ल्याउने गरेको उहाँको भनाइ छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने त्यस क्षेत्रको सुप्रशिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको आठ कट्ठा जग्गामा सञ्चालन भइरहेको उक्त कृषि फार्ममा पालिएका भैँसीको आहाराका लागि करीब साढे तीन बिघा जग्गा भाडामा लिएर घाँससमेत रोपेको उहाँको भनाइ छ ।

प्रत्येक दिन एउटा भैँसीका लागि करीब ५० किलो आहाराको आवश्यकतापर्ने गरेको उहाँले बताउनुभयो । यसका लागि प्रतिभैँसी ३० किलो सुख्खा भुँस, १५ किलो हरियो घाँस र पाँच किलो दाना मिसाएर खाना तयार पारिन्छ ।

फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । कृषक यादवले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पु¥याउनका लागि फार्मसँगै डेरी पनि खोलेका छन् । उक्त डेरीमा आसपासका स्थानीय किसानले उत्पादन गरेको दूधसमेत सङ्कलन गरी दैनिक करीब ५०० लिटरभन्दा बढी दूध जिल्ला सदरमुकाम मलङ्गवालगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पु¥याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले कृषि फार्ममा दुई जना स्थानीय व्यक्तिलाई रोजगारीसमेत दिनुभएको छ । उहाँले अझै भैँसी थप्ने योजना रहेकोसमेत बताउनुभयो । एक वर्ष पहिले करीब रु २५ लाख बैंकबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले करीब रु एक करोड २५ लाख पुगिसकेको छ । दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकाले कृषि पेशाबाट आफू पूर्ण सन्तुष्ट रहेको यादवको भनाइ छ । युवाशक्ति सबै विदेश जानेक्रम चलिरहेका बेला उहाँ भने यस क्षेत्रका युवाका बीच गतिलो उदाहरण बन्नुभएको छ ।

पढेलेखेका युवालाई जागिर नपाएर वैदेशिक रोजगारीमा जानूभन्दा आफ्नै देशको भूमिमा रहेर कृषि क्षेत्रमा लाग्न उहाँको सुझाव छ । कृषिमा पशुपालन मात्र नभई व्यावसायिक तरकारी तथा फलफूल खेती, मत्स्यपालन, पोल्ट्री फार्म तथा कृषिसम्बन्धी अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकाले आफूले गर्नसक्ने कुनै पनि एउटा व्यवसाय छनोट गरी त्यससम्बन्धी तालीम लिइ दक्षता हासिल गरेर अगाडि बढ्न उहाँले युवालाई सुझाव दिएका छन् ।

कृषि व्यवसाय सञ्चालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । बेलाबेलामा अनुदान दिने र ऋणको ब्याजमा समेत सहुलियत दिने गरेकाले कृषि पेशा अरु पेशाभन्दा सुरक्षित रहेको कृषक यादवको भनाइ छ ।