१७ फागुन, महेन्द्रनगर। लागुऔषध नियन्त्रण अभियानमा सक्रिय रहेको प्रहरीले दुई दिन अघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र लागुऔषध ब्राउनसुगरसहित दुईलाई नियन्त्रणमा लिएको छ ।
यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट भारतीय यूके ०६ एक ३४२५ नम्बरको कारसहित सोही ठाउँका २९ वर्षीय विक्रम ठकुल्ला र २९ वर्षीय दीपेन्द्र सुनारलाई पक्राउ गरेको हो ।
“कारमा लागुऔषध ओसारपसार गरिरहेकोे सूचनाका आधारमा झलारीबाट दुवै अभियुक्तलाई पक्राउ गरेका हौँ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भन्नुभयो, “दुवैको साथबाट ४६ पिस ब्राउन सुगरका प्याकेट र चार दशमलव ८० ग्राम खुल्ला धुलो फेला पारेको छ ।”
प्रहरी अनुसन्धानले झलारीबाट पक्राउ गरेका युवक कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्ला बैतडी र डडेल्धुरासम्म ब्राउनसुगर पठाउने गरेका थिए । “समाज सुधार्न यहाँ युवालाई सही बाटोमा लगाउन आवश्यक देखियो ।” उहाँले भन्नुभयो, “अब लागुऔषधको जालो भत्काउने अभियानमा प्रहरी लागिसक्यो ।”











