खुकुरी प्रहारबाट घाइतेको उपचारमा आर्थिक समस्या

१५ माघ, सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते  माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ ।

स्थानीय सूर्य रेग्मी मगरले आर्थिक सङ्कलन गरी मङ्गलबार उहाँलाई गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारमा ल्याएका थिए । फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लानुपर्दा समस्या भएको उहाँको भनाइ छ ।

सोमबार दिउँसो घाँसको विषयमा विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । महिलाकी श्रीमान्ले दोस्रो विवाह गरी अन्यत्र गएको र छोराछोरी समेत नभएको हुँदा थप समस्या भएको बताइएको छ ।

खुकुरी प्रहार गर्ने वृद्धसमेत अपाङ्गता भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न नसक्ने रहेको बताइएको छ ।  सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

[sidebar name="button post"]