१४ माघ, सप्तरी । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान आजदेखि देशभरमा शुरु भएसँगै सप्तरीमा पनि शुरु भएको छ । राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले ब्यानर पढेर खोप हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभयो । सप्तरीमा राजविराजस्थित अस्पताल र रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल ‘ठाको देवी–जोगेन्द्र भगत’ मा स्वास्थ्यकर्मी, सफाइकर्मीलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
खोप अभियानको सप्तरीमा उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकासमन्त्री साहले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । “खोप लगाएपछि कसैकसैलाई सामान्य असर देखा परे पनि ती असर केही समयपछि आफैँ हराएर जाने हुन्छ”, प्रदेशमन्त्री साहले भन्नुभयो, “जीवनरक्षाका लागि लगाइने हरेक खोपको सामान्य असर देखापरेझँै यसको सामान्य असर देखिए पनि आत्तिनुपर्ने अवस्था छैन ।” पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप लगाएपछि दोस्रो चरणमा सर्वसाधारणका लागिसमेत निःशुल्क खोप उपलब्ध हुने उहाँले बताउनुभयो ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले खोप लगाउँदा कसैकसैलाई जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, डाबर देखिने, कमजोरी महसुस हुने भए पनि खतरा नरहेको बताउनुभयो । “कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ, त्यस्को समाधान लागि अस्पतालले तयारी अवस्थामा टिम राखेको छ”, डा झाले भन्नुभयो, “यो खोप परीक्षण गरेर ल्याइएकाले सुरक्षित र प्रभावकारी छ ।” उहाँले थप्नुभयो, “अरू मुलुकले नपाउँदै हामीले खोप पाएका छौँ, डर नमानी विश्वस्त भएर लगाउन सकिन्छ ।”
डा झाले गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला, गम्भीर बिरामी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी नगराइने बताउनुभयो । खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिनेछ । परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, पालिका, वडा नं, सम्पर्क नं, पहिलो र दोस्रोपटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नं तथा खोप लगाइदिने स्वास्थ्यकर्मी र सफाइकर्मीको नाम उल्लेख हुन्छ ।
खोपको पहिलो डोज लगाएको चार सातापछि दोस्रोपटक लगाउनुपर्ने हुन्छ । दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्यरूपमा पेश गर्नुपर्ने नियम बनाइएको छ । सप्तरीका लागि आएको ८३३ भायल कोरोना खोपले तीन हजार ७५४ जनालाई खोप लगाउन सकिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालगायत स्वास्थ्यकर्मी र सरसफाइकर्मीको उपस्थित रहेको छ । यो खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्तरूपमा विकास गरेका हुन् । भारतस्थित सेरम इन्स्टिच्युटले उत्पादन गरेको यो खोपको तेस्रो चरणको ट्रायलसमेत पार भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा झलक गौतमले आज ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताउनुभएको छ । मुलुकभर चार लाख ३० हजारजनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको डा गौतमले बताउनुभयो ।











