Ad #144479

१२ माघ, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाले पटमारा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सो वडामा बर्थिङ सेन्टर नहँुदा यहाँका गर्भवती सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भ जाँच गर्न बाध्य थिए । वडामै बर्थिङ सेन्टर सञ्चालन भएसँगै स्थानीय गर्भवतीलाई स्वास्थ्य जाँच गर्न सजिलो हुने भएको छ ।

घरमै हुने सुत्केरी र बालमृत्युको दर घटाउन बर्थिङ सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय गर्भवती बाहिर सुत्केरी गराउन जानुपर्ने समस्या हटेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।

स्वास्थ्य संस्थासम्म प्रसूति गराउन आउने महिलालाई राज्यले यातायात खर्चबापत हिमाली जिल्लामा रु तीन हजार र नियमित चारपटक जाँच गराएबापत थप रु ८०० उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।

गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि यहाँका महिला खुशी भएको स्थानीयवासी माया खड्काले बताउनुभयो । सुरक्षित सुत्केरी गराउने ठाउँ भएपछि घरमा सुत्केरी गराउने चलनमा कमी आउने उहाँको भनाइ छ ।

सुरक्षित प्रसूति सेवा गर्नेदेखि ग्रामीण क्षेत्रका गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माउनका लागि गाउँपालिकाले वडामै बर्थिङ सेन्टर सञ्चालन गरेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो । गाउँपालिकाभर तीनवटा स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालन छन् ।