११ माघ, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी मतदाताको सङ्ख्या ७५ हजार ७८० थियो । आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्गअनुसार यस वर्ष पुससम्म मतदाताको सङ्ख्या ८६ हजार १०१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार ३५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार ७४२ पुगेको छ । विसं २०७४ पछि तीन वर्षको अवधिमा १० हजार ३२१ ले मतदाता बढेको जिल्लामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले यही माघ १५ गतेदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली आद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्देशनअनुसार जिल्लामा पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ ।











