Ad #144479

६ माघ, काठमाडौं । रुकुम पश्चिमको राडीबजारमा अनश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि कफ्र्यु आदेश जारी गरेको हो ।

नेपाली कांंग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएपछि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा स्थानीय युवाबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।

झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘३’ र ६ ‘३ ‘क’ कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो ।