Ad #144479

२२ पुष, सिन्धुली । सत्तारुढ नेकपाका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओली भएकै समूह आधिकारिक भएको दाबी गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा पोखरेलले ओलीकै समूह नेकपाको आधिकारिक शक्ति भएको बताएका हुन् ।

साथै उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन आग्रह समेत गरे ।

विगतमा कम्युनिस्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको पनि पोखरेलको टिप्पणी छ ।

आरोपप्रत्यारोपले कम्युनिस्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उनले आग्रह गरे । पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उनले गरे ।