१६ पुष, काठमाडौं । काेराेना भाइरसबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै भएका थिए ।
तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेसनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ । कोभिडको कारण ज्यान गुमाउने उनी छैटौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।
पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । रानाको मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए ।












