१२ पुष, काठमाडौं । संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको छ । दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएपनि कुनै क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।
जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण गरेका उनको दाबी छ । प्रहरीले जवाफी फायर खोलेपछि भीडन्त भएको हो ।
चन्द समूहका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ। ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामग्री पनि बरामद गरेको छ । प्रजिअ आचार्यका अनुसार भिडन्तपछि उनीहरु जंगलतिर भागेका छन् । यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।












