काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् ।
हिजो शुक्रबार दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गर्नुभएका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन ।
उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन् । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो ।
राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए । उनले शुक्रबार गाएका सबै गीतको रोयल्टीसमेत तिरेर गाएका हुन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे। ‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताए ।












