Ad #144479

१९ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ‘एन्टिजेन’ परीक्षण तत्कालका लागि स्थगित गरेको छ। परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू गरेको थियो। तर मानिसहरू परीक्षणमा नआएपछि सोमबार र मंगलबार मात्र परीक्षण गरी बुधबारदेखि बन्द गरिएको हो।

परीक्षणमा मानिसहरूको आकर्षण नभएको भन्दै अब थप छलफल गरेर मात्र परीक्षण पुनः सुरू गरिने तयारी रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । निर्देशक पाण्डेले मानिसहरू पोजेटिभ देखिए १४ दिन होमआइसोलेसनमा बस्नुपर्ने झन्झट सम्झेर परीक्षण गर्न नआउने गरेको बताए।

परीक्षण गराउन मानिसहरूको सक्रियता नदेखिएपछि महाशाखाले अब कसरी अगाडि बढ्ने भनेर थप छलफल गर्ने भएको छ। साथै, अहिलेसम्म गरिएका परीक्षणको विश्लेषण समेत गरिने पाण्डेले बताए। दुई दिनमा १५ सय जनाको परीक्षण गर्दा १२० जना अर्थात् जम्मा ८ प्रतिशतमा पोजेटिभ देखिएको थियो ।

जुन अहिले पीसीआर परीक्षणबाट पोजेटिभ देखिएको भन्दा दोब्बर कम हो। अहिले पिसिआर परीक्षणबाट औसत १८ प्रतिशत व्यक्तिमा पोजेटिभ देखिएको छ। हिजोमात्र ९ हजार २८९ जनाको परीक्षण गर्दा एक हजार ३४३ जना अर्थात १४.४५ प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको थियो। यसरी पीसीआर परीक्षणभन्दा प्रभावकारी कम देखिएकाले गर्दा पनि एन्टिजेन टेस्टबारे थप छलफल गरिने महाशाखाले जनाएको छ।

सरकारले गत सोमबार एन्टिजेन परीक्षण सुरू गरेको थियो। सरकारले कम्तिमा पनि एक लाख जानको ‘एन्टिजेन’ परीक्षण गर्ने भने पनि परीक्षण गराउन मानिसहरूको सहभागिता न्यून देखिएपछि कसरी अगाडि बढ्ने अन्यौलता सिर्जना भएको छ।

तर विज्ञहरूले भने ‘एन्टिजेन’ परीक्षण विश्वसनीय नभएको भन्दै यसलाई प्रयोग गर्न नहुने बताउँदै आएका छन्। एन्टिजेनु परीक्षणले भाइरसको जनु विन्दुलाई समात्नुपर्ने हो त्यसलाई समात्ने सम्भावना कम हुने भन्दै यसले पोजेटिभ व्यक्तिहरूलाई पनि नेगेटिभ देखाइदिने उनीहरूको तर्क छ।