१४ मंसिर, कैलाली । बैतडीमा बलात्कारको घटना मिलाउने वडाध्यक्ष पक्राउ परेका छन् । सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउद पक्राउ परेका हुन् ।
१८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको थियो । गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो ।
बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गरेर गाउँमै लुकाउने भूमिका वडाध्यक्ष साउदले निर्वाह गरेका थिए । बलात्कार घटना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि वडाध्यक्षको पनि अपराध बाहिरिएको हो ।
घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिलेसम्म किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् । बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार छन् ।
प्रहरीले उनको खोजी जारी राखेको छ । बलात्कारपछि घटना मिलाउन एक तोला सुन दिने तमसुक बनाइएको थियो । तर सुन नदिएपछि घटना प्रहरी कार्यालयसम्म पुगेको हो ।











