Ad #144479

११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग दायर भएको रिटमा सर्वोच्चले आदेश दिन अस्वीकार गरेको छ । अध्यक्ष भवानी राणाको विधान अनुसारको कार्यकाल सकिएपछि साधारणसभा गर्न लागिएकाले अवैधानिक भएको भन्दै अधिवक्ता शिवशंकर साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

महासंघका प्रदेश २ का अध्यक्ष साहले पदावधी सकिएपछिको कार्यसमितिले गरेको निर्णय मान्य नहुने भन्दै मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचन रोक्न माग गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयले निर्वाचन स्थगित नगरेपछि उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चमा न्यायाधीश पुरुषोत्तम भण्‍डारीको एकल इजलासले उक्त विषयमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ भने निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

२०७६ चैत २८ गते पदावधी सकिएसँगै राणा नेतृत्वको कार्यसमिति स्वतः पदमुक्त भइसकेको भन्दै नयाँ तदर्थ समिति गठन गरेर निर्वाचन गर्नुपर्ने प्रदेश अध्यक्ष साहले दावी गरेका छन् ।

आजदेखि शुरु भएको महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन् ।