`पर्यटन क्षेत्र लयमा फर्किदैछ´ : पर्यटन मन्त्री भट्टराई

मङ्सिर २, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको बताउनु भएको छ । आज अमादब्लम हिमालको आधार शिविरमा पुगेर सामूहिक तस्वीर खिचाउँदै उहाँले पर्यटन क्षेत्रमा उत्साह थपिदै गएको बताउनुभएको हो । उहाँले आधार शिविरमा आमादब्लम हिमाल आरोहणमा पुगेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाली र विदेशी सदस्य पनि भेट्नु भएको छ ।

पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,“बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ ।

सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढाैँ।” यसअघि १४ पटक सगरमाथाको आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दल आमादब्लम हिमाल आरोहणका लागि आधार शिविर पुगेका हुन् । कोरोना भाइरसको संक्रमणकाबीच अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाका अनुसार अमादब्लम आरोहणमा विदेशीको आकर्षण तथा पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ ।

काेराेना संक्रमण जाेखिमपछि झन्डै ९ महिना पर्यटन क्षेत्र ठप्प रह्यो । सरकारले कार्तिकदेखि केही सहज बनाएपछि अान्तरिक पर्यटन बढ्न थालेकाे छ । त्यस्तै अाराेहण पनि केही बढेकाे छ ।

[sidebar name="button post"]