असोज २६, कोरोना भाइरस नोट, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म सङक्रामक अवस्थामा रहने एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको बिबिसीले जनाएको छ ।
यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा गरिएको हो । युभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भएको छ । केही विज्ञहरु भने स्टील, स्क्रीन वा अरु कुनै पनि माध्यममा रहेका भाइरसबाट सङक्रमण फैलिने जोखिमलाई लिएर दुविधामा छन् ।
कोरोना भाइरस मुख्यतया सङक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने गर्छ । यस्तै हावामा रहेका कणहरुका माध्यमबाट पनि भाइरसको सङक्रमण भएको प्रमाण छ ।
यसअघि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस नोट र सिसामा दुईदेखि तीन दिन तथा प्लास्टिक तथा स्टीनलेस स्टीलमा ६ दिनसम्म जीवित रहन सक्ने देखिएको थियो ।












