समिता श्रेष्ठ
काठमाण्डौको गोकर्णेश्वर उत्तरबाहिनीकी गिता श्रेष्ठले प्लाष्टिक खेर फाल्नुहुन्न । अनि अरुले फालेका पनि जम्मा गर्नुहुन्छ । फोहोरका रुपमा फालिएका ती प्लाष्टिकबाट सामान्य घर मात्रै होइन, महल पनि सजिन्छन् । श्रेष्ठ बेरोजगार बस्नु परेको छैन । काम केहि छैन भनेर पनि बस्नुपरेको छैन । हातमा भएको सिपले उहाँलाई नाम, दाम र सम्मान मिलेको छ ।
क्षमतालाई चिनौँ
उहाँ २०२२ सालमा काठमाडौंको गोकल लगनमा जन्मिनुभएको हो । अहिले गोकणेश्वर ४ न्होकिलमा बस्नुहुन्छ । उहाँले खेर जान्ने प्लाष्टिकबाट विभिन्न खेलौनाहरु, किरिङ्ग, डोरम्याट, ढक्की, लुगा धुने र नुहाउने जाली, फलफुल झुड्याउने, झोला, पर्स आदि सामानहरु बनाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हरेक व्यक्तिभित्र लुकेको क्षमता, प्रतिभा हुने गर्छ । त्यो क्षमतालाई चिन्न जो कसैले सहजै सक्दैन । क्षमतालाई चिनेर व्यवहारमा लगाउने हो भने जीवनमा दुःख पाइदैन ।’
प्लाष्टिकलाई सजावटमा बदल्ने सोंच
गृहिणीको रुपमा घर व्यवहार, सिलाई कटाईमा ब्यस्त भैरहने उहाँले टेलिभिजनमा दैनिक रुपमा खेर जाने प्लाष्टिकबाट विभिन्न सामाग्री बनाउन सकिन्छ भन्ने सुन्नु भएको थियो । त्यसपछि बाटोमा खेलिरहेका बच्चाहरुले चकलेटको खोल तानेर खेलेको पनि देख्नु भएको थियो । अनि उहाँले दुधको प्याकेटलाई नि तन्काउन मिल्छ कि भन्नेर प्रयास गर्नुभयो । सुरुमा उहाँले खेर जान्ने दुधको प्याकेटबाट ढक्की बनाउनु भयो ।
त्यसपछी झन् उहाँलाई रमाइलो लाग्न थाल्यो । अनि त्यो खेर जाने प्लाष्टिक, दुधका प्याकेट, चकलेटको खोल, बिस्कुट, चाउचाउ आदिको खोल, दैनिक जिवनमा प्रयोग भएर खेर जान्ने प्लाष्टिकहरुलाई धागो जस्तै बनाउन थाल्नुभयो । ति धागो बनेका प्लाष्टिकलाई कुरुशको प्रयोग गरेर सानो ढक्की, ठुलो ढक्की, किरिङ्ग, ब्याग आदि बनाउन थाल्नुभयो ।
अलिअलि गर्दै गर्दा हौसला
घरको काम सकेपछी दैनिक रुपमा उहाँ यहि खेर जाने प्लास्टिकबाट नयाँ नयाँ बजारमा देखिएका सामाग्रीहरु बनाउने प्रयास गर्दै जानुभयो । प्रयास सफल हुँदै गएपछि झन् झन् काम गर्ने उर्जा थपिदै गयो । आफ्नो घरको मात्रै होईन अरु छरछिमेकबाट पनि फाल्ने प्लास्टिक जम्मा गरेर राख्न थाल्नुभयो ।
ती प्लाष्टिकलाई घरकै लुगा धुने समयमा सफा गरेर अझै नयाँ नयाँ प्लाष्टिकका सामानहरु बनाउनु थाल्नुभयो । उहाँले आफ्नो मन र ईच्छा शक्तिबाट आफुमा रहेको प्रतिभालाई निखार्दै जान्नुभयो । उहाँ भन्नुहुन्छ,‘आफ्नो प्रतिभालाई चिनेर काम गर्ने ब्यक्तिलाई समाजले पनि चिन्ने गर्दछ । त्यसपछि अवसरका ढोकाहरु बिस्तारै खुल्दै गए । म अगाडी बढ्दै गए ।’
उहाँले चिनेजानेका साथी मार्फत् भृकुटीमण्डपमा प्रदर्शनीमा भाग लिने अवसर प्राप्त गर्नु भयो । खेर जाने साम्रगी, नकुहिने फोहोरलाई सदुपयोग गरेर बनाएको सामाग्रीहरु भृकुटीमण्डपमा प्रदर्शनीमा गएपछी धेरैले मन पराउनुभयो । उहाँ ३÷४ पटक भृकुटीमण्डपको प्रदर्शनीमा जानुभयो । उहाँ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ,‘काम सबैले मन पराउन थालेपछि अझै राम्रो गर्ने, प्रभावकारी रुपमा गर्ने, उत्साह र प्रोत्साहन बढ्दै जान्ने रहेछ ।’
उहाँमा पनि अझै नयाँ नयाँ डिजाइन निकालेर सामाग्री बनाउने कोशिश गर्दै आउनुभएको छ । सबै खेर जाने प्लाष्टिकबाट विभिन्न सामाग्रीहरु बनाउन सकिन्छ । तर प्लाष्टिकलाई मुख बाट खोल्नु पर्छ । उहाँले १४÷१५ थरिको डिजाइनहरु बनाईसक्नु भयो । अहिले उहाँले नयाँ डिजाइनको माछा, पुतली र कछुवा बनाउनु भएको छ । उहाँले बनाउनु भएको सामाग्रीहरु उहाँकै साथीले बिक्री गर्नु गर्नुहुन्छ ।
अरुलाई पनि सिकाउने
गिता श्रेष्ठले यसरी काम थालेको २४÷२५ वर्ष भैसकेको छ । उहाँले आफ्नो सिप आफैमा मात्र सिमित राख्नुभएको छैन । उहाँले यो काम चिनेजानेका र सिक्न खोज्ने दिदीबहिनीहरु र छरछिमेकी लाई पनि सिकाउँदै आउनुभएको छ । लकडाउनको समयमा पनि उहाँले गोकर्णमा रहेको चिनारी सहकारी संस्थाका दिदीबहिनीहरुलाई खेर जाने प्लाष्टिकबाट विभिन्न सामाग्रीहरु ढक्की, किरिङ्ग, प्रेन होल्डर, टि म्याड आदि बनाउन सिकाउनु भयो ।
श्रेष्ठले गरेको कामलाई उदाहरणीय भन्दै विभिन्न संघ संस्थाले सम्मान समेत गरेका छन् । इक्वयल एक्सेजले पुरस्कृत समेत गरेको थियो । अहिले उहाँको एक्लोपनको साथी नै उहाँको प्लाष्टिकबाट विभिन्न सामान बनाउने सिप नै बनेको छ ।
आवश्यक सामग्रीबारे जानकारी
प्लाष्टिकबाट विभिन्न सामग्री बनाउन नयाँ प्लाष्टिक चाहिदैन । अरु धेरै सामान पनि जुटाउनु पर्दैन । खेर जाने प्लाष्टिकहरु, सुईरो, काट्टी, कुरुस, सियो र कैँची मात्रै भए पुग्छ । यी बजारमा पाईने पाँच थरी सामाग्रीबाट धेरै नै सामाग्री बनाउन सकिन्छ ।
उहाँ भन्नुहुन्छ,‘एउटा गाउँमा ४÷५ जनाले मात्रै यो काम सिकेर खेर जान्ने प्लाष्टिक ब्यवस्थापन गरेर सामाग्री बनाएर बिक्री पनि गर्नु सकिन्छ । काम पनि हुने, कमाई पनि हुने, नाम पनि हुने र सम्मान पनि हुन्छ । यस्ता सामग्री बनाउन सक्ने हो भने वरपरको वातावरण सफा र प्रदुषण मुक्त बनाउन सकिन्छ ।’
गिता श्रेष्ठले बनाउनु भएका केही प्लाष्टिकका सामाग्रीहरु ।












