विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालबाट कागेश्वोरी मनोहरा नगरपालिकाका अशोक खड्का निर्णायक मण्डलमा छनोट

विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालबाट कागेश्वोरी मनोहरा नगरपालिकाका नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट हुनुभएको छ ।

पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा केहि महिना अघि भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका मध्ये ५ उत्कृष्ट निर्णायकलाई विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि छनोट गरिएको हो ।

युएस वल्र्ड क्लास तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता अक्टोबर १०, ११, १७ र १८ तारिखमा हुने छ । विश्वभरबाट ५ निर्णायक छनोट गरिएकोमा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुनुहुन्छ । अन्य चार निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको खड्काले जानकारी दिनुभयो ।

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुनुहुन्छ । प्रत्येकले निर्णायकको भुमिका निर्वाह गरेवापत दैनिक १ सय अमेरिकन डलरका दरले पारिश्रमिक पाउनु हुनेछ । अनलाइन मार्फत प्रत्यक्ष हुने यो प्रतियोगितामा सहभागी हुन इच्छुकले दर्ता शुल्क वापत १ सय अमेरिकी डलर बुझाउनु पर्ने छ ।

[sidebar name="button post"]