असाेज ७, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दाे छ ।
त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप ११७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो । उपचाररत संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार १८६ जना र संस्थागत आईसोलेसनमा ८ हजार २२८ जना छन् । तिमध्ये २२० जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १०४ जना रहेका छन् । यस्तै काठमाडौं सहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर, चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयाे।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा अहिले संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४३६ जनाको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् । हिजो (मंगलवार) नेपालमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको थियो ।












