२० भदौ, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ ।
शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाउनुभयो । उहाँले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गर्नुभयो ।
उहाँका अनुसार कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ । विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष पौडेलका अनुसार चरणबद्ध परीक्षा भएमा पनि परीक्षाफल एकै समयमा हुने जानकारी दिनुभयो । उहा भन्नुभयो, “पाठ्यक्रम र मूल्याङ्कन प्रणाली बोर्डले नभई पाठ्यक्रम मूल्याङ्कन विकास परिषद्ले तय गर्ने भएकाले निर्धारित पाठ्यक्रम र सरकारले दिएको परीक्षासम्बन्धी नीतिभन्दा बाहिर हामीले केही गर्न सक्दैनौँ । विषम परिस्थितिमा सरकारको निर्णयलाई आधार मानेर काम गर्नेछौँ ।”
गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा बन्दाबन्दीका कारण स्थगन भएको थियो ।









