अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजिनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा बुझाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
मन्त्रीले प्रधानमन्त्री समक्ष राजिनामा दिने व्यवस्था अनुसार खतिवडाले राजिनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो । २०७४ सालको फागुनमा अर्थमन्त्री भएका खतिवडाको राष्ट्रियसभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रियसभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रोपटक सपथ लिनुभएको थियो ।
अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजिनामा दिनुभएको हो । उहाँको राष्ट्रियसभाको पदावधी भोली सकिँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफुले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दावी गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा विदाई कार्यक्रममा अर्थमन्त्री खतिवडाले अर्थतन्त्र सुधार र वित्तिय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन उहाँले आग्रह गर्नुभएको हो ।









