आज येँया भनिने इन्द्रजात्राको मुख्य दिन अर्थात कुमारीको रथलाई काठमाडौंको तल्लो भागमा तानेर क्वनेया मनाइने दिन हो । आज कुमारी, भैरव र गणेशको रथलाई बसन्तपुरबाट मरु, चिकंमुगल, जैशिदेगल, लगनमा तानिने गरिन्थ्यो ।
कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिने चलन छ । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण आज रथ तान्ने, देवदेवीको नाच प्रदर्शन लगायत कुनै पनि धार्मिक गतिविधि नहुने भएका छन् । यसको साटो क्षमा पुजा गरिने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अबसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा पत्यकाका नेवार समुदाय लगायत सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्यबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने पनि बताउनुभएको छ ।
इन्द्रजात्राको दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा भएपनि यो बर्ष कोरोना महामारीका कारण रोकिएको छ । त्यस्तै आजका दिन भक्तपुरमा सिद्धपोखरी मेला लाग्ने परम्परा छ । त्यस्तै आज चन्द्रागिरी नगरपालिकामा रहेको इन्द्रदहमा पनि मेला लाग्ने दिन हो । तर कोरोना संक्रमणको जोखिमका कारण यि ठाउँहरुमा मेला नलाग्ने भएको छ ।












