साउन २९, कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलन थालेपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिएको छ ।
महानगरकाे १४ वडाले प्रेस विज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर आजदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो । केही दिन अघि क्यासेट पसलका एक जनालाई संक्रमण देखिएको र पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा पनि संक्रमण पाईएको विज्ञप्तिमा उल्लेख छ ।
आजदेखि १५ दिनसम्म अब वडा नम्बर १४ का कलंकी, कालिमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधिहरु बन्द गरिएको वडा अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । अब फलफूल तथा तरकारी व्यवसायीले विहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउनेछन् भने औषधि लगायत खाद्यान्न खुद्रा व्यवसायिले दूरी कायम गरेर मात्र दिनभर पसल खोल्न पाउने छन् ।











