नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको साइत सार्वजनिक

इन्द्रजात्राको साइत यस वर्ष नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

भदौ ४ गते बिहान ११ः१५ बजे जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानिचा यात्रा गराइने विधि रहेको छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समिति अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले यस वर्ष इन्द्रजात्रा कुन रुपमा मनाउने भन्ने निर्णय भइसकेको छैन । जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।

[sidebar name="button post"]