भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।
व्यास–२ का मुकेश ,बुढाथोकीले भन्नुभयो, विगतमा यतिका भारतीय सुरक्षाकर्मीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए”,, “अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौज समेत गरेका थिए ।” नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिनुभयो ।
भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।
भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैका कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना गर्दैछ । नेपाली सेना घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो, “व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।”