सङ्क्रमितकै क्षेत्रमा नमूना सङ्कलन हुने

काठमाडौं , १५ साउन । दैनिक सङ्क्रमित फेला परिरहेको विषयलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा कोभिड–१९ को परीक्षणको दायरा बढाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई तीव्रता दिएको छ ।

महाशाखाले अहिले जुन ठाउँमा सङ्क्रमित देखिएका छन् त्यहीँ ठाउँमा गएर नमूना सङ्कलन गर्ने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

साउन १४ गते बुधबार २० जना, साउन १३ गते ५९ जना र साउन १२ गते ७ जना सर्वसाधारणमा सङ्क्रमण देखिएको छ भने नेपाली सेनामा ७९ जना, नेपाल प्रहरी २०६ जना र सशस्त्र प्रहरीमा ९३ जनामा सङ्क्रमण देखिएको थियो। अहिलेसम्म उपत्यकामा ५७३ जनामा सङ्क्रमण देखिएको छ ।

निर्देशक डा वासुदेव पाण्डेका अनुसार पहिले समुदायमा सङ्क्रमण छ भनेर भीडभाड हुने कार्यालयमा गएर परीक्षण गरियो, तर त्यतिबेला परीक्षण गर्दा न्यून मानिसमा सङ्क्रमण देखा परेको थियो । अहिले परीक्षण गर्दा भने जुन ठाउँमा सङ्क्रमित फेला पर्दछन्, सोही ठाउँमा गएर कन्टयाक्ट ट्रेसिङ गरेर बढी भन्दा बढी सङ्क्रमितका नजिकमा मानिसको नमूना परीक्षणका लागि स्वाव सङ्कलन गर्न थालिएको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीका अनुसार आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका २०० जना र तिलगङ्गा आँखा अस्पतालका २० जना स्वास्थ्यकर्मीको नमूना सङ्कलन गरिदै छ । उहाँले तिलगङ्गामा उपचार गराउन आएका एक जना बिरामीमा सङ्क्रमण भेटिएपछि ती सङ्क्रमितको कन्टयाक्ट टे«सिङ गर्दा उक्त ठाउँका मानिसमा परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको बताउनुभयो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सिंहदरबारभित्र फोहर सङ्कलन र चमेना गृहमा खटिने ५०८ जना कर्मचारीको बुधबार नमूना सङ्कलन गरेको थियो भने कालीमाटीस्थित तरकारी बजारमा तरकारी पसलमा काम गर्ने १०५ कर्मचारीको शुक्रबार नमूना सङ्कलन गरिदै छ ।