राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो ।
गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठका अनुसार भौतिक दूरी कायम गरेर पूजा आराधना गर्न दिए पनि भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले आजदेखि मन्दिर बन्द गरिएको हो । भक्तजनलाई पूजा आराधना एवं दर्शनका लागि मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती पूर्ववत् सञ्चालन हुने उहाँले बताउनुभयो । राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिर उपत्यकाका महत्वपूर्ण शिवालयमध्येमा पर्दछ ।
गोकर्णेश्वर महादेव मन्दिर नजिकैका ५४ वर्षीय एक स्थानीयवासीको कोरोना सङ्क्रमणका कारण असार तेस्रो साता निधन भएकाले कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ ।
उपत्यकामा पुनः सङ्क्रमण बढ्न थालेको र मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेपछि बन्द गर्न बाध्य हुनुपरेको मन्दिर प्रबन्ध समितिले जनाएको छ ।