कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् ।
अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।
अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै राजगढ गाउँपालिकाले पनि आजबाट अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई ध्यानमा राखेर उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । राजविराज नगरपालिकाले भने एक साताअघि नै मङ्गलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय ग¥यो ।
राजविराज नगरपालिका–६ स्थित घरमै कोशी ग्यास र खाद्य बीज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना सङ्क्रमित व्यापारीको मृत्यु भएपछि ’कन्याक्ट ट्र्याकिङ्ग र ट्रेसिङ्ग’ गर्दै जाँदा परिवारका सबै सदस्य, कामदार, छिमेकी, मित्र र उहाँहरुको परिवारमा कोरोना पुष्टि भएपछि राजविराज नगरपालिकाले लकडाउन पूर्ण पालना गर्ने गराउने निर्णय गरेको हो ।
हाल सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ४६२ पुगेको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । भारतसँग सीमा जोडिएको र अन्य छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको ओहोरदोहोर भइरहेकाले जिल्लामा सङ्क्रमणको जोखिम अझ बढ्नसक्ने देखिन्छ ।