लकडाउन खुलेपछि समुदायस्तरमा कोरोनाको जोखिम

बाँकेमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्या घटेको छ । स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ ।

स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ ।

परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण पनि देखिएको छ । नेपालगञ्जको समुदायस्तरमा परीक्षण गर्दा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङ अनुसार “समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ”।

लकडाउन खुलेपछि बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्णरुपमा खुलेका छन् । सार्वजनिक स्थानमा मनिसहरुको भिडभाड बढनुका साथै कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम बढेको हो ।

नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार कर कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय एक सुब्बामा पनि कोरोना पुष्टि भएको छ ।कर कार्यालयमा शनिवार एक अधिकृतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने आइतबार नेपालगञ्नज यातायात व्यवस्था कार्यालयका एक कर्मचारीमा पनि कोरोना देखिएको थियो ।

बाँकेमा अहिलेसम्म एक हजार ७०० पिसिआर परीक्षण गरिएकामा ४०४ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमा दुई जनाको मृत्य भएको छ भने ३७२ जना उपचारपछि निको भएर घर फर्केका छन् ।