वीर अस्पताललाई स्वास्थ्य सेवामा नेतृत्व गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१आँै वार्षिकोत्सवको उद्घाटन समारोहमा उहाँले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व गर्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा मन्त्रालयले खेलेको भूमिकाले नियन्त्रणमा सहज भएको भन्दै सीमित साधन स्रोतका बाबजुद विकसित मुलुक जस्तै यहाँ पनि समाजमा रहेका सङ्क्रमित व्यक्तिलाई खोजेर उपचार गरिएको मन्त्री भानुभक्त ढकालले  जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अस्पताललाई सबै नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालले स्वास्थ्य सेवालाई व्यवसायबाट सेवामूलक बनाइने भन्दै स्वास्थ्य सेवालाई पहुँचसँग मात्र नजोडेर गुणस्तरसँग पनि जोड्नुपर्ने बताउनुभयो । उहाँले सरकारसँग पर्याप्त मात्रामा साधन स्रोत भए पनि काम गर्ने विधि र शैलीको अभाव रहेको धारणा राख्नुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले अस्पताल जनताको सेवामूलक संस्थाका रुपमा विकास गरिएको बताउनुभयो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सुबोध अधिकारीले आगामी दिनमा आफ्नै शैक्षिक कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिष्ठानका डिन प्राडा पियुष दाहालले प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय विश्वविद्यालय बनाइनुपर्ने बताउनुभयो । अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले अस्पतालले गुणस्तरीय तथा भरपर्दो सेवा न्यून शुल्कमा प्रदान गरिरहेको बताउनुभयो । १९४७ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीर शमशेरले अस्पताल निर्माण गर्नुभएको थियो । १५ श्ययाबाट शुरु भएको अस्तपालमा अहिले ४६० श्यया र २०० श्ययाको राष्ट्रिय ट्रमा सेन्टर रहेको छ । अस्पतालको सेवा विस्तार गर्नका लागि थप ५०० श्ययाको सर्जिकल भवन निर्माण गर्न थालिएको छ ।

अस्पतालले अहिले नर्सिङ तथा चिकित्सा क्षेत्रतर्फ प्रवीणता प्रमाणपत्र तहदेखि स्नातक, स्नातकोत्तर तह सम्मको अध्ययन–अध्यापन गराउँदै आइरहेको छ । अस्पतालले अहिले बहिरङ्ग सेवा, आकस्मिक सेवालगायत विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।