देशभरमा पछिल्लो २४ घण्टामा थप १०१ सङ्क्रमित थपिए

देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित १०१ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ । प्रदेशगतरुपमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा चार हजार ४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा एक हजार ३५७, प्रदेश नं ५ मा चार हजार १३५, कर्णाली प्रदेशमा एक हजार ८०४ र सुदूरपश्चिम प्रदेशमा चार हजार तीन जना रहेका छन् ।

त्यस्तै, हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २८५ रहेको छ ।

योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।