चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन् ।
नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महतले बताउनुभयो । यो क्षेत्रमा विवाद छैन । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समयअनुसार गरिरहेको उहाँले बताउनुभयो ।
सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् । अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिंकर गाउँ, स्याङ्खोला, टाटा लगायतका क्षेत्रमा नियमित गस्ती गर्छ । अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामा समेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । भवन नभएका हैनन्, तर भवनको छत राखिएको छैन ।
थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् । छायालेकका दुवै भवन बस्न लायक छैन । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजानी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो । दिनभरी हावाहुरी चल्छ ।
व्यास गाउँपालिकाका कर्मचारी दिपक खातीले भन्नुभयो, “राष्ट्को सुरक्षामा खटिएको प्रहरी बस्ने ठाउँको लागि पहल हुनुपर्छ ।” उहाँले भन्नुभयो, “यी दुवै प्रहरी चौकीका भवन देख्दा साह्रै चित्त दुख्यो । जीर्ण प्रहरी चौकीको अवस्थाबारे गाउँ सभामा कुरा राख्छु । यो वर्ष मर्मतको लागि भए पनि बजेट छुट्याउन आग्रह गर्छु”, उहाँको भनाइ छ ।तिंकर प्रहरी चौकी रहेको ठाउँमा फोन लाग्दैन ।गागाबाट खटिएको प्रहरी निरीक्षक लिलीबहादुर चन्द र नेपाल प्रहरीका छायालेक तिंकर सीमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरकसिंह महता नेतृत्वको टोलीले संयुक्त रुपमा सीमा स्तम्भसम्म गस्ती गरेका छन् ।
स्रोत : रासस