आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्छ ।
यसअघि असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।