सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हटाउन नमिल्ने जवाफ दिएको छ।
साथै अहिले विदामा बसिरहेका गुरागाईँलाई कारबाही गर्ने अधिकारसमेत महानगरपालिकासँग नभएको प्रस्ट सन्देश दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार बिहान महानगर प्रमुख बालेन्द्र शाहलाई पत्र पठाउँदै सोधेको छ- तपाईंहरूले बनाएको छानबिन समितिको प्रतिवेदन के भयो? तपाईंहरूले गठन गरेको छानबिन समितिको निष्कर्ष के आयो?’
महानगरपालिकाले पनि सोमबारै बेलुकी मन्त्रालयमा जवाफी पत्र पठायो। तर, महानगरपालिकाले त्यसबारे केही जवाफ नदिई अन्य कुरा मात्र लेखी पठाएको मन्त्रालय स्रोत बताउँछ।
‘के कारणले हाम्रो कर्मचारीलाई हटाइयो? प्रतिवेदनमा त आउनुपर्यो, महानगरले पूर्वसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ। फेरि त्यो समितिको म्याद पनि थपेको छैन र निष्क्रिय भएको छ। फेरि महाशाखाका तीनजनालाई जिम्मा दिएको छ।’
महानगरपालिकाले चित्तबुझ्दो जवाफ नदिएको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। ‘महानगरपालिकाले चित्तबुझ्दो जवाफ दिएको छैन’, उनले भने। सोही पत्रपछि मेयर बालेनले सोमबार साँझ फेसबुकमा ६ बुँदे जवाफ र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रश्न गरेका हुन्।









