बागलुङ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताए ।
पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए । विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमरेमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गरेका छन् ।
बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार रहेका अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको स्पष्ट पारेका छन् । “मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ ।
सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सा¥यो, गठबन्धन दलबाट पनि तपाईँ नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो। अध्यक्ष केसीले गठबन्धनको सुत्रधार आफ्नै पार्टी रहेकोसमेत दाबी गरेका छन् ।
“गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ । विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बन्नुभएका अध्यक्ष केसी अहिले पुनः संसद्मा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ ।
बयासी वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उनमाथि बेलाबेला टिप्पणी हुँदै आएको छ ।









