सुर्खेत: गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ । गाउँका भोसी खेल्ने भुआराहरू जम्मा भएर भोसीको सुरुआत गर्दछन् ।
भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो)को जोहो गरिएको हुन्छ । दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ । जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन् ।
लक्ष्मी पूजाको बिहानीपख भोसो सेलाउने चलन हुन्छ । अथवा भोसो समापन गर्ने चलन हुन्छ । नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ । नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको झण्डै दुई किलोमिटर टाढा रहेको भुवाखाडामा यो सेलाउने परम्परा छ ।
धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसो, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउँछ । कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिङ्गी डाली खेल्ने, भैली खेल्ले गरिन्छ । त्यसपछि भोसोको समापन हुन्छ । भोसोको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा छ ।
यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान छ । विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, माङ्गल गाउने चलन छ । तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएकाप्रति अगुवाहरू चिन्तित छन् । भोसो संस्कृतिलाई जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरू बताउँछन् ।
वर्ष दिनमा एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताए । पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ ।अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ।









