कर्णालीमा लोकप्रिय बन्दै भोसो

दैलेख: भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो ।

दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ । सदरमुकाम नजिकैको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसो अहिले पनि खेल्ने गरिन्छ ।

दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायमै छ । भोसो भिन्न–भिन्न नामले परिचित छ । भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भन्ने गरेको पाइन्छ । आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै (हुबहु) मान्दै आएको पाइन्छ । वर्ष दिनको एकपटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई ‘एकदिने खेल’ पनि भन्ने चलन छ ।

यो मुलतः पुरुषप्रधान खेल हो । नारीहरूका लागि रत्यौलीजस्तै भोसो हो । भोसोमा व्यक्त गरिने शब्द सुरुआतकालदेखि नै प्रचलनमा रहेको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताए । भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ । भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ ।

भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ । पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षहरूमा भने छोट्याइएको छ ।

[sidebar name="button post"]