माटोमा अम्लियपना बढ्दै, रैथाने खेती नासिँदै

काठमाडौं: ३ दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दंग पर्थे ।

कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खेबाली बिक्री गरेर लभ्लीहिलमा ३ तले पक्कीघर र सदरमुकाम बेनी बजारको मंगलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेशाबाट वितृष्णा जागेको बताउँछन् ।

जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन, अर्ग्यानिक तरकारी मात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमान्दार कृषक’को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेशाप्रति वितृष्णा जागेको हो ।

माटोको उर्बराशक्तिमा ह्रास आउँदै गएपछि अग्र्यानिक रैथाने कृषि उत्पादन अब तीव्ररूपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षाैंदेखि गर्दै आएको ‘खेती गरौं कि छाडौं’को स्थितिमा पुगेको उनले बताए ।

‘मैले शुरूदेखि नै अग्र्यानिक रैथाने जातका खेतीलाई महत्त्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडें,’ कार्कीले भने, ‘विगत ५–६ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने बीउबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो ।’

‘अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाई सुखै छैन,’ कार्कीले भने । कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ ।

फलफूलहरू ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन बिग्रिँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ ।

कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन, जताततै देखिन थालेका छन् । उनी भन्छन्, ‘जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउहरू त लोप पनि भइसकेका छन् ।’ कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको छ ।

[sidebar name="button post"]