काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ ।
यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। तिहारका यी पाँच दिन इन्द्रादी दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेको कथा पनि पाइन्छ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गरिन्छ।
कसरी लगाउने टीका ?
दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान(सुपारी, पत्र(पुष्प पठाई निम्तो दिइन्छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ । टीकाको दिन प्रातकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आवाहन गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी हुन्
विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ । पूजा–विधिअन्तर्गत दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको लाक्षणिक एवम् प्रतीकात्मक अर्थ हो– दिदीबहिनी(दाजुभाइको सुख(समृद्धि, आरोग्य एवं दीर्घायु ।
यस्तो छ विधि
सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ ।
त्यसपछि पानी र तेलले पालैपालो दाजुभाइलाई सातपटक घेरी परिक्रमा गरिन्छ । त्यसपछि फूल, अक्षता आदिले दाजुभाइको पूजा गरी शिरमा तेल लगाइन्छ ।
सप्तरङ्गीमा इन्द्रधनुषका सात रङ्गहरू प्रयोग गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
एकभन्दा बढी दाजुभाइ हुनेहरूले भाइटीकाको दिन सबैभन्दा कान्छोदेखि टीका लगाउन सुरु गर्ने प्रचलन छ । तर, यो कुनै शास्त्र उल्लेखीत नियम भने होइन ।
दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ । सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् । नेपालीहरूले दिदीबहिनीको पाउमा ढोगे पनि भारत तथा अन्य मुलुकमा भने जो उमेरमा ठूलो छ उसलाई मात्र ढोग्ने प्रचलन रहेको छ ।
आजको दिन दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानी पोखरीमा रहेको मन्दिरमा पूजाआजा गर्छन् । यो मन्दिर आज एकदिनका लागि मात्र खुल्ने गर्दछ ।












